पर्वत, १५ भदौ– मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङस्थित भ्याप्लेमा पहिरोका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो ।
ठूला–ठूला ढुंगा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो ।
त्यस्तै सोही स्थानभन्दा केही अघि मोदीखेतमा पनि सडकमा ढुंगा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुंगा पन्छाएर सडक खुलाइने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन् । दिउँसोसम्म सडक खुलाउन सकिने प्रहरीले जनाएको छ ।