म्याग्दी, २० भदौ– जिल्लाको बेनी अस्पताल करार जनशक्ति र अस्थायी पूर्वाधारको भरमा सञ्चालन हुँदै आइरहेको छ । पचास शैया क्षमताको अस्पतालमा कार्यरत अधिकांश कर्मचारी करारका हुनाका साथै पूर्वाधार तथा भौतिक संरचना पनि अस्थायी प्रकृतिका छन् ।
अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कँडेलले दरबन्दीअनुसार स्थायी जनशक्तिको पदपूर्ति नहुँदा र नयाँ भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा समस्या भएको बताए । ‘आठ कन्सल्टेन्ट चिकित्सक र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि अध्ययन बिदामा गएकाबाहेक १३ जना स्थायी छौँ’, उनले भने ।
प्रदेश सरकारले करारमा भर्ना गरेका जनशक्तिको म्याद थप नहुँदा र निक साइमन्स इन्स्टिच्युटबाट आएका स्वास्थ्यकर्मीसहित ३८ जना एकैपटक बाहिरिँदा साउन महिनाभर शल्यक्रिया गरी सुत्केरी गराउने र सर्जिकल गर्भपतनमा असर परेको थियो ।
स्थायी जनशक्ति नहुँदा हरेक आर्थिक वर्षको पहिलो महिना नयाँ प्रक्रियाबाट जनशक्ति पदपूर्ति गर्नुपर्दा सेवा प्रवाहमा व्यवधान उत्पन्न हुने गरेको छ । म्याग्दीमा चिकित्सक र स्वास्थ्यकर्मी आउन नमान्ने, आएका पनि छिटो सरुवा भएर जाने वा अध्ययन बिदामा बस्ने गरेका छन् । पूर्वाधार नहुँदा चिकित्सक आइहालेमा उनीहरुले काम गर्ने ठाउँ पनि छैन ।
समयमा सेवा नपाउने, पालो पर्खनुपर्ने, जिल्ला बाहिर उपचार गर्न जानुपर्ने समस्या रहेको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेका सुमन पौडेलले बताए । जनशक्ति अभावले अस्पतालमा पाँच शैया क्षमताको आइसीयू सञ्चालन हुनसकेको छैन ।
करार र विभिन्न कार्यक्रमबाट थप स्वास्थ्यकर्मी व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । ‘करार अवधि सकिए पनि केही स्वास्थ्यकर्मीले स्वयंसेवा गरेर सघाउनुभयो’, उनले भने, ‘५१ जना जनशक्ति व्यवस्थापन भएपछि सेवा प्रवाह सहज भएको छ ।’
अस्पताल व्यवस्थापन समितिले दुई मेडिकल अधिकृत, छ स्टाफ नर्स, दुई ल्याब टेक्निसिएन, एक एनेस्थेसिया सहायक, दुई अहेव, दुई अनमी, एक ल्याब असिस्टेन्ट र चार कार्यालय सहयोगी करारमा नियुक्त गरेको छ । प्रदेश सरकारले आठ स्टाफ नर्स, एक–एक जना एचए, फार्मेसी, रेडियोग्राफरसहित १३ स्वास्थ्यकर्मी करारमा पठाएको छ ।