बागलुङ, २१ भदौ– सदरमुकाम बागलुङ बजारमा संचालित चिया पसल, रेष्टुरेन्ट तथा होटलमा सरसफाइको आवस्यकता देखिएको छ ।
खाद्यबस्तुको उपभोग हुने स्थानमा सरसफाइमा ध्यान नदिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्राविधिक सहायक सहन्साकुमार महतोले बताए । जिल्ला प्रशासन कार्यालय बागलुङ, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमनको क्रममा बजार क्षेत्रमा संचालित चियापसल, रोटी तथा तन्दुरी र अन्य खाजाका पसलमा सफाइको समस्या देखिएको हो ।
सोमबार जिल्ला प्रहरी, उपभोक्ता मंच, पत्रकार र बागलुङ नगरपालिका समेतको सहभागितामा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा सफाइ नभएको पसलमा तत्काल सफाइ गर्न निर्देशन दिएको सहायक प्रजिअ गणेशप्रसाद पौडेलले बताए । ‘कतिपय स्थानमा शौचालय, भाडा धुने स्थान र हातधुने स्थान फोहोर भेटियो’ उनले भने, ‘माकुराको जालो लागेको स्थानमा खाद्यबस्तु राखेर बेचेको पनि भेटियो ।’ त्यस्ता पसललाई तत्काल सुधार गर्न निर्देशन दिएको र केही दिनमै परिवर्तन भएको नपाएमा जरिवाना र कारवाही गर्न चेतावनी समेत दिइएको उनले बताए ।
रेष्टुरेन्टमा भाडा धुने स्थान फोहोर, पकाउने स्थानमा फोहोर खस्ने अबस्था र पानीको प¥र्याप्तता नदेखिएको समते बताइएको छ । कतिपय स्थानमा फोहोर पानीले भाडा धुने गरेको पनि देखिएको हो । झिगा भन्केको लगायतको समेत देखेपछि अनुगमन टोलीले खाद्यबस्तुको गुणस्तर समेत नाप्ने गरी अर्को अनुगमन पनि गर्ने महतोले जानकारी दिए ।
केही होलसेल पसल र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गरिएको थियो । ती स्थानमा म्याद नाघेका बस्तु छुट्टै राखेपनि लामो समयदेखिका बस्तु नष्ट नगरेको पनि भेटिएका थिए । ‘छुट्टै स्थानमा राखेकोले जथाभावी बेचेको छैन भन्ने देखियो’ पौडेलले भने, ‘समयमा नष्ट गर्ने काम पनि गर्न भनेका छौं ।’ चाडपर्व शुरु भएकोले बजारमा बिक्री हुने तथा उपभोग हुने हरेक बस्तु तथा सेवाको अनुगमन गर्नुपर्ने उनले औल्याएका छन् । मूल्य सूचि नराखेका पसललाईपनि अनिवार्य राख्न निर्देशन दिएको उनले बताए ।
चाडपर्व शुरु भएपछि बिशेषगरी कालोबजारी गर्ने, कतिपय सामान भएकोलाई नभएको भन्ने तथा बिल नकाट्ने प्रवृत्तिले उपभोक्ताहरु ठगिने क्रम बढेको छ । हरेक बर्ष जसो हुने यस्ता क्रियाकलाप न्युनिकरणकालािग पनि अनुगमन समितिले काम गर्ने बताइएको छ । सहायक प्रजिअको नेतृत्वमा बजार अनुगमन समिति रहन्छ । साथै नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रमा अनुगमन गर्ने अधिकार छ । दर्ता गरेर मात्र व्यवसाय चलाउने, अनिवार्य कर तिर्ने तथा कारोवारको आधारमा भ्याटमा जान प्रेरित गर्ने जस्ता काममा पनि नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयले व्यवसायीलाई आग्रह गर्ने काम गर्दै आएको छ ।