बागलुङ, २ असोज– ओशो तपोबनका संचालक स्वामी अरुण आनन्द सोमबार बागलुङमा आउने भएका छन् । उनले बागलुङमा दुइ घण्टा प्रवचनसमेत दिने भएका छन् ।
ओशोको ध्यान र साधनाको प्रवद्र्धत भएर काम गरेका उनले पहिलो पटक बागलुङमा आएर प्रवचनसहित धार्मिक तीर्थस्थलको भ्रमणसमेत गर्ने भएका हुन् । शनिबार ओशो अमृतम ध्यान केन्द्र बागलुङले पत्रकार सम्मेलन गरेर स्वामी अरुणको भ्रमणको उद्धेश्य जानकारी गराएको हो ।
स्वामी अरुणाले बागलुङ कालिकाको दर्शन, कालीगण्डकी नदीमा स्नान र शालीग्राम संग्राहलयको अबलोकन गर्ने कार्यक्रम रहेको केन्द्रकी संचालिका ज्योत्सना शाक्यले बताइन् । इन्जिनियर क्षेत्रबाट पेशामा लाग्दा लाग्दै अरुणले जीवन जीउने कलाको रुपमा ध्यानलाई रोजे । ओशोको मार्गदर्शन रोजेर उनले ध्यानलाईनै एक शुत्रीय नियम बनाएका छन् । काठमाण्डौंस्थित ओशो तपोबनमा अहिले सयौं मानिस ध्यानबाट मुक्ती मार्गमा लागेका छन् । यद्यपी उनको ध्यानमा लाग्नेले घरगृहस्ती त्याग्नु पर्दैन ।
हरेक नागरिकले जन्मदिनको अबसरमा ५ वटा बिरुवा रोप्ने अभियान पनि उनले चलाएका छन् । वातावरण संरक्षण र पृथ्वी जोगाउ भन्ने उनको नारामार्फत कार्वन घटाउने पहल भएको छ । बागलुङमा आयोजित प्रवचनमा पनि उनले ओशो दर्शन र जीवन जीउने कलाबारे जानकारी गराउने बताइएको छ ।
सन् १९४४ मा जनकपुरमा जन्मेका अरुणले ओशो अभियानमा ५२ बर्षभन्दाबढी समय बिताएका छन् । उनले त्रिभूवन विश्व विद्यालय, संयुक्त राष्ट्रसंघको काठमाण्डौ स्थित भवन लगायत सयौं भवनको डिजाइन गरेका छन् । उनका सन्त दर्शन, सन्त गाथा, अचम्म जो मैले देखे, जस्ता चर्चित पुस्तक प्रकाशित छन् ।