तस्बिर गुगलबाट
म्याग्दी, ६ असोज– म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरी ‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो ।
कालीगण्डकी र भेरी नदी जोड्ने गरी परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका अभियन्ता मनबहादुर खत्रीको टोलीले ‘रिसेका’ पदमार्गको समेत अध्ययन गरेको हो । भदौदेखि असोज ३ गतेसम्म म्याग्दीको चिमखोला, कुइनेमंगलेहुँदै मुस्ताङको कालापानी रिसेका पदमार्गको सम्भाव्यता अध्ययन गरिएको मोहनबहादुर खत्रीले बताए ।
उहाँका अनुसार, धौलागिरि हिमालको दक्षिण आधार शिविर जाने सेञ्चुरी पदमार्ग, कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार र चिमखोलाको कालीबराह ताल क्षेत्र र मुस्ताङको लेते जोड्ने गरी नयाँ पदमार्गको खोजी गरिएको हो ।
यस पदमार्गअन्तर्गत कुइनेमंगलको पात्लेखर्कबाट पदमार्ग सुरु गरी रिखार रुरुचौर मानापाथि आधार शिविर–धौलागिरि दक्षिण आधार शिविर–आइसफल भ्यु पोइन्ट–कालिबराह ताल र मुस्ताङको कालापानी निस्कन सकिने पदमार्गको पहिचान गरिएको खत्रीले बताए ।
यस पदमार्गमा धौलागिरि आइसफल पदमार्गका साथै धौलागिरि पदमार्गको सिङ्कोसबगर, मल्कबाङको च्यामलीडाँडा, चौरवनहुँदै रिखार जोड्ने परम्परागत भेडीगोठ मार्ग र कालीबराहदेखि पहेलीबराह, ठूलीमेला, मुली, खल्मी, टकसारहुँदै मुस्ताङको कोवाङ जोड्ने परम्परागत चौरीमार्ग जोडिन्छन् ।