पर्वत, ८ असोज– जिल्लाका पाँच वटा स्थानीय तहका पशु चौपायालाई खोप लगाउन लागिएको छ । एक जिल्लाबाट अर्को जिल्लामा वा एक पालिकाबाट अर्को पालिकामा पशु ओसारपसार गर्दा पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने अवस्थालाई मध्य नजर गर्दै खोप लगाउन थालिएको हो ।
पशु सेवा तथा भेटेरिनरी अस्पताल पर्वतका प्रमुख रामजीप्रसाद शर्माले पर्वत जिल्ला माछा, मासु, अण्डा, दूध लगायतमा आत्मनिर्भर बन्दै गएको र केही कुरा निर्यात गर्दा निरोगी पशुको उत्पादन हो भनेर खोप कार्ड देखाउनु पर्ने बाध्यता हुन सक्ने बताए ।
गण्डकी प्रदेश सरकारले पशु चौपायामा पूर्ण खोप अभियान विगत तीन वर्षदेखि चलाइरहेको जानकारी दिदै शर्माले पहिलो वर्ष कुश्मा नगरपालिका–१ पाङमा, दोस्रो वर्ष कुश्मा नगरपालिकाका १४ वटै वडामा र यस वर्ष कुश्मा, फलेवास नगरपालिका, बिहादी, जलजला र मोदी गाउँपालिकामा पशु चौपायालाई पूर्णखोप सुनिश्चित गर्न लागिएको बताए ।
पाँच ओटा स्थानीय तहका चौपायालाई दुई चरणमा गरेर सबै प्रकारका खोपहरू लगाउने गरी ४९ जना कर्मचारीहरू नियुक्ति गरेर काममा खटाइएको उनको भनाई थियो । कर्मचारीसहित सम्बन्धित स्थानीय तहका पशु सेवा शाखाका कर्मचारीहरूको सहकार्यमा दसैँसम्मलाई पहिलो चरण मानेर खोरेत रोग बिरुद्धको खोप लगाउन थालिएको छ ।
यो बेला पशुहरूमा खोरेतको प्रकोप देखिन सक्ने भएकाले दसैँ अगावै उक्त खोप लगाइसक्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ । यसपछिको दोस्रो चरणमा गाई भैँसीमा देखिने भ्यागुते र चरचरे बिरुद्धको खोप, भेडा बाख्रामा पिपिआर, कुकुरमा रेबिज बिरुद्धको खोप, बंगरमा अहिले खोरेत र पछि स्वाइनफिवर बिरुद्धको खोप लगाइने छ । यी दुवै चरणलाई सकेसम्म तीन महिनाभित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।