बागलुङ, १४ असोज– जिल्लाका वित्तिय संस्थामा सेवाग्राहीको चाप बढेको छ । दशैको लागि आवश्यक पर्ने नयाँ नोट साट्ने, खुद्रा पैसा बनाउने, तलव भत्ता निकासा, रेमिट्यान्सको रकम बुझाउने सेवाग्राहीको चाप बढेको हो ।
दशैमा दक्षिणको रुपमा प्रयोग गर्ने उद्देश्यले नयाँ साट्ने सेवाग्राही बढी मात्रामा आउने नेपाल बैंक बागलुङका प्रबन्धक अमृत सेवाले बताए । नेपाल बैंक बागलुङले मंगलबारदेखि नयाँ नोट साट्न सुरु गरेको थियो ।
प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्मको नयाँ नोट सटहीको व्यवस्थाप मिलाएको प्रबन्धक सेवाको भनाई छ । नेपाल बैंकले गलकोट, बुर्तिवाङ र बागलुङ शाखाबाट तीन करोड रुपैयाँको नयाँ नोट सटही गर्नेछ ।
नेपाल बैंकले हरेक बर्ष दशैको अवसरमा नयाँ नोट वितरण गर्दै आएको छ । ‘बडामा दशैमा सेवाग्राही नयाँ नोटको प्रयोगमा इच्छुक हुन्छन्’ उनले भने–‘सेवाग्राहीमो चाहना अनुसार सेवा प्रदान गरेका छौँ ।’
जिल्लाका अन्य बैंक, सहकारी तथा वित्तिय संस्थाले पनि आफ्ना सेवाग्राहीलाई सिमित मात्रामा भए पनि नयाँ नोट साट्ने व्यवस्था मिलाएका छन् । झट्ट हेर्दा आकर्षक देखिने हुँदा नयाँ नोटप्रति उपभोक्ता आकर्षित हुन्छन् ।
दक्षिणामा नयाँनोट प्रयोग गर्दा बालबालिका खुसी हुने हुँदा पुरानो साटेर नयाँ लैजाने गरेको बागलुङ नगरपालिका–१२ का तेजुराम विकको भनाई छ । ‘हुन त पुरानै भएपनि पैसा हो, त्यसको मुल्य त्यही हुन्छ’ उनले भने–‘नयाँ नोटमा बालबालिकको खुःसी जोडिएको हुन्छ ।’