म्याग्दी, २७ असोज– हङकङमा रहेका म्याग्देलीले विपन्नको उपचारमा सघाउन ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औँ साधारणसभाका अवसरमा संकलन भएको ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो ।
मोना हङकङका अध्यक्ष कर्ण पुनले मंगलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरे । हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवीप्रकोपमा राहतस्वरुप करिब तीन करोड सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताए ।
कोषका महासचिव लोकबहादुर पुनले २०७१ सालमा स्थापना भएको संस्थाले गरिब बिरामीको उपचारमा सहयोग पु¥याउँदै आएको बताए । हालसम्म दुई सय ६५ जनाको उपचारमा सघाएको पुनले बताए ।
हाइपोलास्टिक एनीमिया रोगबाट पीडित ओमकुमारी पुनको उपचारका क्रममा निधन भएपछि उहाँको उपचार अभियानमा संकलन भएर बचत भएको १३ लाख रकमबाट उहाँकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो ।
तीन करोडको अक्षयकोष निर्माण अभियानमा हालसम्म एक करोड ४३ लाख संकलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरी आठ सय ३० जनाले आजीवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र नौ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।
मोना हङकङले संकलन गरेको उक्त रकम जुटाउन हंङकङमा रहनुभएका १५ म्याग्देलीले प्रतिव्यक्ति दुई लाख सहयोग गर्नुभएको थियो । उक्त अवसरमा कोषमा दुई लाख सहयोग गरी व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।