११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बलेवामा धान छेदन मिति घोषणा


जनमञ्च संवाददाता
  • २७ असोज २०७९ , बिहिबार

  • बलेवामा धान छेदन मिति घोषणा

    बागलुङ, २७ असोज– को बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो ।
    स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो कात्तिक ४ गते बिहान ९ बजेलाई शुभ दिन तोकिएको छ । पुली लिने भनिने यस दिनलाई बलेवाका स्थानीयले एक पर्वकै रूपमा मनाउने गरेका छन् ।
    बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटाका ज्योतिषी लेखनाथ पौडेल र सुवासचन्द्र पौडेलले ज्योतिषशास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदनका लागि कात्तिक ४ गते शुभमुहुर्त तोकेका हुन् । अघिल्ला वर्षहरूमा पनि ज्योतिषी पौडेलको नेतृत्वमा एवं अमलाचौरका ज्योतिषी रामकृष्ण पाठक, विष्णुप्रसाद पाठक र विष्णुप्रसाद पौडेलेको परामर्शमा यी दिनहरू तोक्ने गरिन्थ्यो ।
    दसैँको महानवमीका दिन बलेवा कोटभैरवस्थित कोटघरमा आयोजना हुने एक विशेष समारोहका बीच पुली लिने र नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोक्ने गरिन्छ । कात्तिक १९ गते बिहान ९ बजे नयाँ धानको चामल खाने अर्थात् न्वागी खाने उत्तम समय रहेको पनि सोही दिन तोकिएको छ ।
    महानवमीका दिन नवदुर्गाको विशेष पूजाका साथै बलेवा कालभैरवको मन्दिरमा मेलाका लागि जम्मा हुने सर्वसाधारणलाई भैरवस्थानका पण्डित तथा ज्योतिषीले गरेको निर्णय कोटभैरव गुठी व्यवस्थापन समितिले जानकारी गराउने परम्परा छ ।
    बलेवाका किसानले आफ्नै खेतमा लगाएको धान काट्न पनि यो १८ औँ शताब्दीको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन् । महानवमीका दिन नयाँ धान काट्ने र न्वागी खाने दिनको शुभ मुहूर्त सार्वजनिक गरिन्छ र बलेवालीहरूले पनि तिनै दिनहरूमा उक्त कार्य गर्ने गर्दछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend