बागलुङ, २८ असोज– बागलुङ नगरपालिकाको कार्यालय रहेको भवन छोड्न माग गर्दै किसानहरुले ज्ञापनपत्र बुझाएका छन् । साविक कृषि बिकास कार्यालय रहेको बागलुङ नगरपालिका–२ स्थित भवन कृषि ज्ञान केन्द्र बागलुङले प्रयोग गर्न पाउनुपर्ने भन्दै किसानहरुले नगरपालिकाले उक्त भवन छोड्नुपर्ने माग गरेका हुन् ।
बागलुङ नगरपालिका–३ का किसान गंग बहादुर थापाको नेतृत्वमा नगरपालिका पुगेका किसानको समुहले नगरपालिकाले कृषिको भवनबाट कार्यालय सञ्चालन गर्दा किसान मर्कामा परेको बताए । तालिम हल, बिभिन्न प्रयोगशाला सञ्चालनमा बाधा सिर्जना भएको उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
किसानको अभिभावकको रुपमा रहेको कार्यालयले आफ्ना सबै काम गर्न पाउने वातावरण साँघुरो भवनका कारण नरहेको भन्दै किसानहरुले उपयुक्त बिकल्पको खोजी गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको बताए । ‘हामीले अहिले नै भवन छोडेर हिँड्नुस् भनेका होईनौं’ किसान थापाले भने ‘उपयुक्त बिकल्पको खोजी गरेर व्यवस्थापन गर्नुपर्छ भन्ने माग हो ।’ ज्ञान केन्द्र जिल्लाभरीका किसानको कार्यालय भएको भन्दै उनीहरुले नगरपालिकाले किसानको हितमा सोच्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारीलाई समेत सम्बोधन गरेर नगरप्रमुखलाई बुझाईएको ज्ञापन पत्रमा उपयुक्त स्थानको खोजी गरेर नगरको कार्यालय स्थानान्तरण नगरे जिल्लाभरीका किसान आन्दोलित हुने चेतावनी समेत दिईएको छ । साविकको कृषि विकास कार्यालयको जग्गा, भवन र सम्पत्ति कृषि ज्ञान केन्द्रको हुनेगरी गण्डकी प्रदेशको मन्त्रीपरिषद बैठकले निर्णय गरेकाले नगरपालिकाले कार्यालय छोड्नुपर्ने उनीहरुको माग छ ।
ज्ञापनपत्र बुझ्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले साँघुरो कोठाबाट कार्यालय सञ्चालन गर्नु रहर नभएर बाध्यता भएको प्रतिक्रिया दिए । ‘हामीलाई पनि सुविधासम्पन्न भवनबाट कार्यालय सञ्चालन गर्ने इच्छा छ, कयौं छलफल र बिकल्पहरुको खोजी गरेका छौं तर उपयुक्त बिकल्प भेटीएको छैन्’ श्रेष्ठले भने ‘रात्माटामा रहेको नगरपालिकाको भवन ज्ञान केन्द्रलाई दिने र यहाँ रहेको साविक कृषि विकास कार्यालय रहेको जग्गामा नयाँ भवन बनाउन हामी तयार छौं ।’
श्रेष्ठले संघीय सरकारका विभागीय मन्त्री, सचिव स्तरमा कुराकानी भैसकेकाले नगरपालिकाको भवनसहित जग्गा कृषि ज्ञान केन्द्रलाई दिन र कृषि विकास कार्यालयको भवनसहितको जग्गा नगरपालिकाले स्वामित्वमा लिन समस्या नहुने बताए । ‘मन्त्री र सचिव ज्युले सहमति बनाएर पठाउनुस्, क्याबिनेटबाट डिसिजन गर्छौं भन्नुभएको छ, तर यहाँ कृषि ज्ञान केन्द्र सहमति दिन किन तयार छैन्, मैले बुझेको छैन्’ श्रेष्ठले भने ‘हाम्रो भवन ज्ञान केन्द्रलाई दिनु भनेर उहाँहरु नै प्रस्ताव गर्नुभएको हो ।’ कृषि ज्ञान केन्द्रको भवनका बिषयमा सहमति दिए १५ दिनमा समस्या टुंगो लाग्ने भन्दै श्रेष्ठले किसानलेनै ज्ञापनपत्र लिएर आउनुपर्ने अबस्था नरहेको बताए ।
संघीय संरचनाको कार्यान्वयनसँगै साविक कृषि विकास कार्यालय खारेज भएपछि भवनको स्वामित्व नगरपालिकाले लिएर कार्यालय स्थानान्तरण गरेको थियो । नगरपालिका स्थानान्तरण भएको एक वर्षपछि स्थापना भएको ज्ञान केन्द्रले लामो समयदेखि कृषि विकास कार्यालय रहेको भवन र जग्गा आफ्नो भएको जिकिर गर्दै आएको छ ।
नगरपालिकाले साविकका महिला तथा बालबालिका कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, डिभिजन सहकारी कार्यालय, कृषि विकास कार्यालय लगायतका खारेज भएका कार्यालय भवनहरुमा आफ्ना बिभिन्न शाखा सञ्चालन गरेको छ ।