बागलुङ, ३० असोज– जिल्लाको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन् । पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ । भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो ।
पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । अहिले बरेङका पाँचवटै वडामा स्वास्थ्य, कृषि र पशु शाखाका कर्मचारीलाई वडा सचिवको काममा खटाइएको शर्माले जानकारी दिए ।
प्रशासन तर्फका वडा सचिव नहुँदा प्राविधिक कर्मचारी खटाउँदा समस्या भएको छ । ‘सवै वडा सचिव सरुवा भएर जानुभयो, अहिले वडा सचिवविहीन गाउँपालिका बनेको छ तर हामीले जनताको सेवालाई निरन्तरता दिन वडामै रहेका स्वास्थ्य, कृषि र पशु शाखाका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएका छौँ’, उनले भने ।
बरेङ गाउँपालिका वडा नम्बर १ को कार्यालयमा स्वास्थ्यकर्मी, वडा नम्बर २ को कार्यालयमा कृषि प्राविधिक, ३, ४ र ५ नम्बर वडा कार्यालयमा पशु प्राविधिक सेवाका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए ।
उनले तिहारपछि दरबन्दीअनुसारका सचिव पदपूर्ति गर्ने बताए । रानाका अनुसार तिहारपछि प्रशासनतर्फ पाँचौँ तहका चार कर्मचारी आउने भएकाले समस्या हुँदैन ।