काठमाडौं, ३० असोज– शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । उनको आज बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको पत्रकार तथा लेखक गिरीश गिरीले जानकारी दिएका छन् ।
यस्तै परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले पनि फेसबुकमा लेख्दै जोशीको निधन भएको पुष्टी गरेका छन् । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।