बागलुङ, २ कात्तिक– ३१ वर्षयता बागलुङमा रहेको बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर्चाहरू भइरहे । तर विमानस्थल न त उपयोग भएको छ न प्रयोग ।
विमानस्थलको झन्डै सात सय मिटर लामो धावनमार्ग पछिल्लो समय कालोपत्रे गरिएको छ । चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको विमानस्थल हवाईजहाजको पर्खाइमा छ ।
यो विमानस्थलको धावनमार्ग आठ करोड बढी खर्चेर बनेको हो । निर्माणका बेला हतार–हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन् । ‘हिजो गौचरण रहेको विमानस्थल अहिले टल्किने भएको छ, अब जहाज चलाउनुपर्छ’, पूर्व सांसद डा. सूर्य पाठकले भने, ‘सडक राम्रो नहुँदा यात्रुको समस्या भएको हो ।’
नागरिक उड्यन प्राधिकरण, बागलुङ नगरपालिका र राजनीतिक दलका नेतृत्वले बनिसकेको विमानस्थलको सदुपयोगबारे चासो राख्नुपर्ने स्थानीय बताउँछन् ।
प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले कालोपत्रपश्चात तत्कालै जहाज सञ्चालन गर्ने जनाउँदै आएका थिए । तर गत वैशाख–जेठमै विमानस्थलको धावनमार्ग लगायतका संरचना तयार भएपनि सहज सञ्चालनमा आउन सकेको छैन् ।
विमानस्थलबाट जहाज चल्ने सम्भावना अझै नभएको बागलुङ नगरपालिका वडा नम्बर १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । मालढुंगादेखि १० किलोमीटर दूरीमा पुग्न सकिने विमानस्थलका लागि दुईवटा सडक छन् । तर तीन वर्षदेखि खसेको पहिराले दुवै सडक अवरुद्ध बनाउने गरेको छ ।
पहिरो पन्छाउने र सडक चलाउन नसक्दा यात्रीले पैदल हिँड्नुपर्ने बाध्यता छ । ‘वर्षाको समयमा सवारी चढेर सदरमुकाम पुग्नै कठिन छ, बलेवामा जहाज चल्ने कुरामा कसरी विश्वास गरौ’, बलेवा पैञ्युपाटाका भवानी रिजालले भने, ‘पहिले सडक मजबुद बनाउन लाग्नुपर्छ, जहाज नचलाएर त सुख होला र ?’