बागलुङ, २ कात्तिक– बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालीका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर गुठीले उक्त जानकारी दिएको हो ।
गुठीका अनुसार असोज महिनाभर कालीका मन्दिरमा ३५ लाख ३७ हजार ८ सय ४९ रुपैयाँ भेटी चढेको देखिएको हो । आम्दानीबाट गुठीले विभिन्न शिर्षकमा १९ लाख ४० हजार ६ सय ६० रुपैयाँ खर्च गरेको छ ।
गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि ५ लाख २ हजार, बिजुली खर्च १८ हजार अतिथि सत्कारमा १४ हजार, आर्थिक दान १० हजार, पूर्वाधार निर्माणमा १२ लाख ८ हजार, खाद्यान्न तथा आबासमा ४४ हजार ५ सय, मर्मत संहारमा १४ हजार ७ सय ४३ तथा साँस्कृतिक कार्यक्रममा १ लाख २२ हजार ५ सय खर्च भएको बताए । अन्य खर्चमा ६ हजार रुपैयाँ देखाइएको छ ।
आम्दानीतर्फ भेटीमा मात्रै १९ लाख २२ हजार संकलन भएको हो भने चामल बेचेर ८५ हजार, बोकाको टाउकोबाट २ लाख १३ हजार, कुखुराबाट १७ हजार, राँगो बाट ५ हजार ८ सय र घरभाडाबाट ३ लाख ८२ हजार संकलन भएको हो ।
विवाह गरेको १३ हजार, आर्थिक सहयोगबाट १ लाख ७६ हजार तथा परेवाबाट ६ लाख ७६ हजार संकलन भएको बताइएको छ । असोज महिनाभरमा भक्तजनले चाँदीको औठी एक थान, चाँदीको सिक्का १ थान, चाँदीकै घोडा १ थान र सुनको टिका २ थान चढाएका थिए ।
त्यस्तै चाँदीको पाउजु २ जोर, सुनको मुन्द्रा १ ओटा, सुनको तिलहरी १ तथा सुनको टुक्रा १ र चाँदीको ताज १ वटा अन्दाजी ५ तोलाको चढाएको बताइएको छ ।