म्याग्दी, ५ कात्तिक– ट्रयाक खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेतहुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो ।
एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको यो सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको बेनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।
भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्न लागेको हो । सडक निर्माणका लागि २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक २३ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । तोकिएको ३० महिनाको अवधिभित्र सडक निर्माणको काम सक्ने तयारी भइरहेको निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईले बताए ।
सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र दुई किलोमिटर आरसिसी ढलान गर्ने सम्झौता भएको छ । यसैगरी घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि गरिनेछ । हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या छ ।
संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न ४०÷४० करोड विनियोजन गरेको थियो । निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने सो सडक आयोजनालाई सिफारिस गरेको बताए ।