२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

काग तिहार मनाईयो


जनमञ्च संवाददाता
  • ६ कार्तिक २०७९ , आइतबार

  • काग तिहार मनाईयो

    काठमाडौं, ६ कात्तिक– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजासहित मीठामीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् ।
    यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खान दिइ खुसी पार्ने गरिएको पनि उहाँले बताउनुभयो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
    ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिनेक्रम आज साँझ पनि जारी रहन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।
    शनिबारदेखि नै कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको छ । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन नै काग तिहार पर्व मनाइने गरेकामा तिथिको घटबढका कारण यस वर्ष शनिबार यमपञ्चक सुरु भएकामा आज काग तिहार पर्व मनाइएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend