बागलुङ, ३० कात्तिक– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल पुग्न मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अब मतदानस्थल केन्द्रित तयारी सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार मंगलबार सम्ममा मतदान अधिकृतसहित कर्मचारी र निर्वाचन सामग्री मतदानस्थलमा पुगिसक्नेछन् ।
‘कर्मचारीको खटनपटन र व्यवस्थापन भइसक्यो, अहिले नियुक्ति दिने काम भइरहेको छ’, उनले भने, ‘निर्वाचनको तयारी लगभग पूरा भइसकेको छ ।’
बागलुङ–२ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले निर्वाचनका लागि चाहिने सबै सामग्री तयारी अवस्थामा रहेको र सामग्री बुझेर बिहीबार साँझसम्ममा तोकिएको मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी पुगिसक्ने बताए ।
छ वटा स्थानीय तह रहेको सो क्षेत्रमा एक सय १६ मतदान केन्द्र छन् । संघतर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र छन् । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
सबै मतदान केन्द्रमा गरी एक हजार आठ सय ५७ जना कर्मचारी र नौ सय ३० जना स्वयंसेवक खटिने निर्वाचन कार्यालयले जनाएको छ । चुनाव आउन पाँच दिन बाँकी रहँदा जिल्लाको सुरक्षा योजनादेखि अरु व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको छ ।
राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन् । जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् । १ नम्बर क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नम्बर क्षेत्रमा ९५ हजार पाँच सय ६१ मतदाता छन् । संघका दुई र प्रदेशका चार सिटका लागि बागलुङका ३१ उम्मेदवार चुनावी मैदानमा छन् ।