बागलुङ, ३० कात्तिक– निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा मशालका १४ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचन बहिस्कारका लागि आयोजना भएको कोणसभामा प्रहरी चौकी कुश्मीशेराबाट पुगेको प्रहरीले नेकपा मशालका पोलिटव्युरो सदस्य कृष्णराज पौडेल सहितका नेता तथा कार्यकर्ता पक्राउ गरेको हो ।
पक्राऊ पर्नेहरुमा नेकपा (मशाल)का पोलिटब्युरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली, एकता समाजका अध्यक्ष देब बहादुर लामिछाने, नेकपा (मशाल) बागलुङका सचिब नारायण सापकोटा, प्रवक्ता रेशम गिरी, रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष दल बहादुर बिक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सुर्य थापा, नेकपा (मशाल) कास्कीका प्रवक्ता बिक्रम थापा, युवा वाम नेताहरु सागर कुवर, आकाश गौतम, बिनोद बिष्ट, रमाकान्त शर्मा र नेकपा (मशाल) काठमाडौंका नेता यम प्रसाद शर्मा रहेका छन् ।
उनीहरुलाई प्रहरी चौकी कुश्मिशेरामा राखिएको छ । ‘निर्वाचन विरोधी गतिबिधि गरेको सूचना आधारमा पक्राउ गरिएको हो, कुन पार्टीका हुन् भन्ने हामीलाई जानकारी छैन्’ जिल्ला प्रहरी प्रमुख दयानिधी ज्ञवालीले भने ‘प्रचार सामग्री सहित फेला परेकाले अनुसन्धान भैरहेको छ, मुद्दा चलाउने वा कागज गरेर छोड्ने अनुसन्धानपछि थाहा हुन्छ, घटनाको प्रकृति र उनीहरुको क्रियाकलापको बिषयमा हामीले पहिले जानकारी लिन्छौं ।’
कोणसभाका मुख्य वक्ता पोलिटब्युरो सदस्य कृष्णराज पौडेलले सम्बोधन गरिरहेका बेला प्रहरीले सबैलाई पक्राउ गरेको थियो । मशालका नेता कार्यकर्ता र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको प्रतक्षदर्शीले बताए । प्रहरीले उनीहरुसँगै माइक र पर्चा लगायतका प्रचार सामाग्रीहरु पनि जफत गरेको छ ।