म्याग्दी, ३ मंसिर– जिल्लाको बिकट क्षेत्र गुर्जा र बगरमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी ९ घण्टाको पैदलयात्रापछि पुगेका छन् ।
सदरमुकाम बेनीदेखि टाढा रहेका मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी लामो पैदल यात्रपछि पुगेका हुन् । सदरमुकामभन्दा टाढा रहेको धौलागिरी गाउँपालिका–१ को गुर्जा र ४ नम्बर वडा मुदी बगरमा मतदानका लागि सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका हुन् ।
जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत अमृत सुवेदीलाई मतदान अधिकृत तोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले गुर्जाको कमाण्ड सुम्पेको थियो । अनकण्टार जंगलको बाटो हुँदै असई क्षितिज के.सीको कमाण्डको सुरक्षाकर्मी र अमृत सुवेदी कमाण्डको निर्वाचन टोली गुर्जा पुगेको हो ।
झण्डै ९ घण्टा जंगलभित्रको यात्रा गर्ने क्रममा तीन हजार २ सय ८५ मिटरको उचाइमा पर्ने देउराली डाँडा पुगेर पुनः ओरालो अनि उकालो यात्रा तय गरेर दुई हजार आठ सय मिटर उचाइको गुर्जामा टोली पुगेको सुवेदीले बताए ।
धौलागिरी गाउँपालिकाकै दुर्गम क्षेत्र मध्येको धौलागिरी गाउँपालिका–४ मुदीको बगरमा पनि निर्वाचनका लागि खटिएका कर्मचारी ७ घण्टा लामो पैदल यात्रा गरेर पुगेका छन् ।