बागलुङ, ९ मंसिर– राष्ट्रिय जनमोर्चा बागलुङले मतदातालाई धन्यवाद दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई मत दिएर बिजयी गराएको भन्दै राजमोले मतदातालाई धन्यवाद दिएको हो ।
राजमो जिल्ला अध्यक्ष अमर थापाले एक प्रेस बिज्ञप्ती जारी गर्दै बाम–प्रजातान्त्रिक गठबन्धन दलका उम्मेदवारलाई विजयी बनाउन लाग्ने नेता, कार्यकर्ता, शुभचिन्तक र मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन बागलुङ जिल्लामा शान्तिपूर्ण तथा उत्साहजनक रुपमा सम्पन्न भएको जनमोर्चाको ठहर छ । संविधानको रक्षा र स्थिरताको पक्षमा रहेका शक्तिलाई जिताउनको लागि केन्द्रमा भएको गठबन्धनको भावनालाई बागलुङले अनुमोदन गरेको थापाले उल्लेख गरेका छन् ।
‘बागलुङको निर्वाचनको परिणामले लोकतन्त्रप्रतिको गौरवपूर्ण राजनीतिक सचेतना, इमान्दारिता र विश्वासलाई मतदानमार्फत प्रमाणित गरेको छ ।’ थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘मतदानलाई शान्तिपूर्ण, व्यवस्थित र धाँधलीरहित बनाउन अहोरात्र खट्ने कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, पत्रकारलगायत सम्पूर्ण जनसमुदायहरुलाई धन्यवादसहित प्रतिस्पर्धी रहेर लोकतन्त्रको सुन्दर पक्षलाई जिवन्त बनाउन सहयोग गर्ने प्रतिस्पर्धी मित्रहरुप्रति समेत आभार प्रकट गर्दछौ ।’