काठमाडौं, १० मंसिर– आयोजक कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ । कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्रसमेत बनेको छ ।
समूह चरणको खेल अन्तर्गत शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १–१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो । समूह ‘ए’ मा रहेको कतारले शुक्रबार नै सेनेगलसँग ३–१ ले पराजित भएको थियो ।
कतारले २ खेलमा दुई हार व्यहोर्दै अंक जोड्न सकेको छैन । एक खेल खेल्न बाँकी रहदा कतार पुछारमा रहेको छ । यस समूहमा नेदरल्यान्ड्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इक्वेडर ४ अंक जोडेर दोस्रो तथा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शनिबार समूह चरणअन्तर्गत समूह ‘सी’ र समूह ‘डी’का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेल ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा बराबरी खेलेको पोल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । साउदी भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
विश्वकपअन्तर्गत नै शनिबार हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ भने चौंथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राती १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको अर्जेन्टिना पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा बराबरी खेलेको मेक्सिको पनि पहिलो जित निकाल्न चाहन्छ ।