बागलुङ, १५ मंसिर– धानबाली भित्राएपछि बर्सेनि मंसिरको पहिलो साता पौँदीमा न्वागी खाने प्रचलन छ । पौँदीवासी न्वागीको संस्कृतिलाई पर्वका रुपमा मान्छन् ।
न्वागी खाएलगत्तै मेला लगाउने परम्परा छ । यसवर्ष भने चुनावले मेला पछाडि धकेलिएर शनिबारदेखि सुरु भएको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले जानकारी दिए ।
‘न्वागी पौँदी क्षेत्रको ऐतिहासिक पर्व हो, यसको परम्परा जोगियोस् भनेर मेलालाई संस्थागत रुप दिएका छौँ’ घिमिरेले भने । बागलुङ र गुल्मीको सीमानामा पर्ने पौँदी क्षेत्रमा सयौँ वर्षदेखि न्वागी पर्व मनाइँदै आइएको छ । मंसिर १ देखि ७ सम्ममा ज्योतिषले निकालेको शुभमूहर्त अनुसार न्वागी खाने चलन रहेको छ ।
समितिका सचिव विष्णुप्रसाद आचार्यका अनुसार पहिले त्यस क्षेत्रकै ठूलो मेलाका रुपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । मेला भर्न बागलुङ र गुल्मीका गाउँगाउँबाट मानिस पौँदी झर्थे । पछिल्लो समय बडिगाड गाउँपालिकाको ग्वालीचौरमा मेला लाग्दै आएको छ ।
खेल, कला, संस्कृतिको उत्थान र व्यापार प्रवद्र्धनमा मेलाले टेवा पु¥याइरहेको आयोजकको भनाई छ । लोकभजन, सोरठी, दोहोरी, सराय, लाखे नाचलगायत पम्परागत संस्कृति झल्काउने नाच र झाँकी यसपालिको मेलाका आकर्षण हुन् ।
दर्शक तान्न भलिबल जस्ता लोकप्रिय खेलदेखि राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिलाई पनि जोडिएको छ । कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमलाई मेलामा समेटिएको सचिव आचार्यले जानकारी दिए ।