बागलुङ, १५ मंसिर– को काठेखोला गाउँपालिका–५ रामकोटधाममा आगामी मंसिर २२ देखि २८ गतेसम्म आयोजना हुने बिहुँकोट धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ ।
कोरोना महामारीका कारण गतवर्ष रोकिएको महोत्सव यसपाली हुन लागेको हो । रामकोटस्थित परमानन्द संस्कृत गुरुकुल पुनः सञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिने महोत्सवका मूल संकल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजले जनाएको छ ।
समाजका अध्यक्ष देवीलाल कँडेलका अनुसार विगतको सशस्त्र द्वन्द्वताका रामकोटधामको गुरुकुल पाठशाला बन्द हुने पुगेको थियो । रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १ हजार ८ परमानन्द सरस्वती महाराजका पालामा गुरुकुल सञ्चालनमा आएको थियो ।
महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ वटा विभाग गठन गरी कामको जिम्मेवारी दिइएको अध्यक्ष कँडेलले बताए । महोत्सवमा देशभरबाट सन्त, महात्माहरुको उपस्थिति रहने जनाइएको छ ।
महोत्सवमा स्थानीय संस्कृतिको झाँकी प्रदर्शनी, हेलिकप्टरबाट पुष्ट वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन संकीर्तन, पञ्चेबाजा प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रम हुनेछन् ।
महोत्सवबाट संकलित रकम गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाई छ । ‘महोत्सव सुरु नहुँदै ६५ लाख जति जुटिसकेको छ, त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ’, सुवेदीले भने । संस्कृत पाठशाला पुनः सञ्चालन भएमा सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।