बागलुङ, १५ मंसिर– बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुँले फाँटदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।
बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिने क्रम जारी छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल थपिएको एक वर्षभित्रै बागलुङको कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका रत्नेचौर जोड्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको थियो ।
कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसके पनि हस्तान्तरणको काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । ‘बागलुङ र म्याग्दी जोड्ने झोलुङ्गे पुलको निर्माण सकिएको छ’, खड्काले भने ‘पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौँ ।
संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडाँैले म्याग्दीको बेनी नगरपालिका रत्नेचौरदेखि बागलुङ नगरपालिकाको कुडँुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल तीन करोड ५० लाखमा निर्माण गरिएको हो ।
उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिए । पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दुध बजारीकरण गर्न र पैदलमार्गहुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाई छ ।
पुल निर्माणका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए । बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयको विश्वास छ ।