पर्वत, १७ मंसिर– जिल्लाको कुश्मा बजारमा संग्राहलयको निर्माण शुरु भएको छ । जमिन सम्याउने काम पूरा भएपछि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले भवनको शिलान्यास गरे ।
२०७४ सालदेखि मगर र उपलब्ध भएसम्म सबै जातजातिका विशेषता बोकेका सामग्री राखी संग्राहलय निर्माण गर्ने भनिए पनि बजेट अभावमा काम रोकिएको थियो । मगर समुदायले महोत्सव र देउसीभैलोबाट संकलित रकमबाट संग्राहलय निर्माण थालेको हो ।
मगर समुदायको कलाकौशल, प्रर्वद्वनमा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबको बजेटबाट भवन निर्माण थालिएको क्लबका अध्यक्ष कृष्ण पुनले बताए । ‘पर्वतमा रहेका सबै जातजातिका भाषा, भेषभूषा, उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्र लगायतका सामग्री संग्राहलयमा हुनेछन्’ अध्यक्ष पुनले भने ।
महोत्सवबाट बचत भएको र तिहारमा देउसीभैलोबाट संकलित २५ लाख रुपैयाँबाट भवनको निर्माण थालिएको हो । काम शुरु गरेपछि सहयोग बिस्तारै आउँदै जाला भन्ने आशमा भवन निर्माणको काम सुरु गरेको पुनले जानकारी दिए ।
दुईतले भवन निर्माण गर्न करिब डेढ करोड रुपैयाँ लागत अनुमान गरिएपनि अहिलेसम्म कुनैपनि सरकारी निकायबाट रकम नलिएको पुनको भनाई छ । भवन निर्माणका लागि क्लबले संकलन गरेको रकमबाट २०७२ सालमा २९ लाखमा जग्गा खरिद गरिएको थियो ।
कुश्मा नगरपालिकाका प्रमुख जोशीले मगर समुदायको नेतृत्वमा बन्ने पहिलो संग्राहलय कुनै जाति विशेषको मात्र नभई सबैको साझा हुने बताए । भवन निर्माणका लागि नगरपालिकाबाट आर्थिक सहयोग रहने जोशीले प्रतिवद्वता समेत जनाएका छन् ।