म्याग्दी, १९ मंसिर– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।
घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रंगरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको जानकारी दिए ।
‘गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट विनियोजन गरेर पूर्णता दिएका छौ’ खड्काले भने, ‘कुर्ची, टेबुललगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गछौ ।’
आर्थिक वर्ष २०७८÷७९ मा दुई चरणमा २५ लाख विनियोजन भएको सभाहल निर्माणका लागि गाउँपालिकाले चालु वर्ष २०७९÷८० मा ६ लाख ५० हजार विनियोजन गरेको छ । उपभोक्ता समितिमार्फत सभाहल निर्माण गरिएको खड्काले बताए ।
सभाहल निर्माण भएपछि तालिम, गोष्ठी, भेला, बैठक, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको छ । यसअघि संरक्षण क्षेत्र व्यवस्थापन समितिको भवन रहेको ठाउँमा सभाहल समेत निर्माण गरिएको हो ।