म्याग्दी, २१ मंसिर– जिल्लामा यसवर्ष धान र कोदोको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११ दशमलब ५० प्रतिशत र कोदो ६ दशमलब ८७ प्रतिशतले उत्पादन घटेको हो ।
धानको उत्पादकत्व प्रतिहेक्टर ० दशमलब ३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ० दशमलब १ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा परेको खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए ।
रोपाइँ ढिलाइ हुनु र खेतबारी आसपासका क्षेत्रमा बढेको जंगलको ओसले पनि धान र कोदोको उत्पादन घट्नुको थप कारण भएको सिग्देलले बताए ।
गतवर्ष म्याग्दीमा १३ हजार चार सय ८० मेट्रिक टन धान र तीन हजार चार सय ९० मेट्रिक टन कोदो उत्पादन भएको थियो । यसपालि तीन हजार दुई सय ५० मेट्रिक टन कोदो र ११ हजार ९ सय २९ दशमलब ३३ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले बताइन् ।
‘जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौ’, आचार्यले भनिन्, ‘धान प्रतिहेक्टर ३ दशमलब ४ मेट्रिक टनबाट घटेर ३ दशमलब १ मेट्रिक टन प्रतिहेक्टर भएको छ भने कोदोको उत्पादकत्व प्रतिहेक्टर १ दशमलब २८ बाट घटेर १ दशमलब २७ मेट्रिक टन भएको छ ।’
कृषि प्राविधिकहरूले जिल्लाका विभिन्न स्थानमा धान र कोदोको क्रप कटिङ गरेर उत्पादकत्व पहिचान गरेका थिए । म्याग्दीमा २ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान खेती हुन्छ ।
गौरी, जेठोबुडो, जर्नेली, पहँेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुनेगर्छ ।