पर्वत, २१ मंसिर– जिल्लामा खेतीयोग्य जमिनको माटोमा अम्लियपनको समस्या देखिएको छ । नबौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनको समस्या बढी देखिएको हो ।
पैँयूका सातवटै वार्डबाट माटोको एक सय दुई नमुना परीक्षण गरिएको थियो । संकलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिइन् ।
नतिजामा २५ प्रतिशत नमुनामा अम्लियपनको समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखिएको छ । ८० प्रतिशत माटोमा फस्फोरस र सबै नमुना माटोमा पोटासको मात्रा कम रहेको प्रमुख थापाले बताइन् ।
नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छभने पि.एच. मानको आधारमा कृषि चुनको मात्रा सिफारिस गरिएको कार्यालयले जनाएको छ । सिफारिसअनुसार कृषि चुन र सन्तुलित मलखाद किसानले अवलम्बन गरे माटोको अवस्था सुधार गर्न सकिने थापाले बताइन् ।
विश्व माटो दिवसको अवसरमा गरिएको माटो परीक्षणले गाउँपालिकाका सबैजसो वडाका किसान लाभान्वित भएका छन् । नमुना परीक्षण गरिएका क्षेत्रमा माटोको उपचार गर्ने प्रविधि र माटोको अवस्था अनुसार कुन बालीनाली लगाउने भन्ने बारेमासमेत सहजीकरण गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिइन् ।