बागलुङ, २१ मंसिर– जिल्लाको गलकोट नगरपालिका–७ का इन्द्रबहादुर थापा मगरले चौरासी पुजामा हुने खर्च दीपज्योति आधारभूत विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
मगरले कोभिड १९ महामारीका कारण बेलायतबाट नेपाल आएर चौरासी पूजा गर्ने वातावरण नभएकोले चौरासीमा हुने खर्च विद्यालयलाई हस्तान्तरण गरेका हुन् । ७ वर्षअघि ५१ हजारको अक्षयकोष स्थापना गरेका ८६ वर्षीय मगरले विद्यालयमा उपस्थित भई १ लाख २ हजार विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा आँगाखेत बामिया टोल विकास संस्थाका अध्यक्ष रत्नबहादुर मल्ल र विद्यालयका प्रधानाध्यापक डोलबहादुर केसीले सामाजिक भावले शिक्षामा गरिएको सहयोग पूण्य भएको बताएका थिए ।