९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ढोरपाटनमा सात नाउर र पाँच झारलको सिकार


जनमञ्च संवाददाता
  • २३ मंसिर २०७९ , शुक्रबार

  • ढोरपाटनमा सात नाउर र पाँच झारलको सिकार

    बागलुङ/ यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन ।

    आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए । एक अमेरिकी नागरिक भने सिकार गर्नबाट चुकेको उनले बताए । घुस्तुङ ब्लकमा दुई नाउर र दुई झारल, सुनदहमा एउटा झारल, सेङमा एउटा नाउर, दोगाडीमा तीन नाउर र एक झारल तथा फागुनेमा एक नाउर र एक झारलको सिकार गरिएको हो । अमेरिकी नागरिकले भने घुस्तुङ र दोगाडी ब्लकमा सिकार खेलेका थिए ।

    मेक्सिकोका नागरिकले सुनदह, सेङ र दोगाडी तथा क्यानडा र जर्मनीका नागरिकले फागुने ब्लकमा नाउर र झारलको सिकार गरेका सहायक संरक्षण अधिकृत थापा मगरले बताए । “यो याममा सिकार खेल्न आएका सबै सिकारी आरक्षबाट फर्किसके, अब फागुनदेखि दोस्रो याम सुरु हुन्छ”, उनले भने ।

    यस वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आठ नाउर र पाँच झारलको सिकार अनुमति दिएको थियो । विद्युतीय बोलपत्रबाट छानिएका सिकार कम्पनीले तोकिएका ब्लकमा सिकार खेलाएका थिए । कम्पनीमार्फत बर्सेनि सिकार खेल्न विदेशी नागरिक ढोरपाटन आउने गरेका छन् । सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले जर्मनी र अमेरिकाका सिकारीलाई सिकार खेलाएको बताए ।

    आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला हुन्छ । विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी पेशेवर सिकारीलाई नेपाल भित्राउँछन् । यो याममा एउटा नाउर सिकारमा रु २० लाख र झारललाई रु छ लाखसम्म राजश्व तिर्न कम्पनी तयार भएका थिए । ढोरपाटनको सिकार पर्यटनबाट बर्सेनि करोडौँ रुपैयाँ राजश्व राज्यको ढुकुटीमा जम्मा हुन्छ ।

    सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् । सिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ रुपैयाँ खर्चिन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधारशिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगीसहित सिकार ब्लकसम्म पुग्छन् । आधारशिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुई÷तीनसम्म लाग्छ ।

    सिकार टोली हतियारसहित सबै बन्दोबस्ती लिएर जाने गर्छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् । सिकारीले बल्कअनुसार तोकिएको संख्यामा नाउर र झारलको सिकार गर्ने गरेका आरक्षले जनाएको छ । हरेक पाँच पाँच वर्षमा गरिने नाउर र झारलको गणनाका आधारमा विभागले सिकारको कोटा तोक्छ । सौखिन र खर्चिला सिकारी पर्यटकको रोजाइमा ढोरपाटन पर्ने गरेको आरक्षले जनाएको छ । आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा पर्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend