२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

अक्षते–घोडाबाँधे सडकखण्ड : ठेकेदार सम्पर्कविहीन, कालोपत्रेको काम अलपत्र


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७९ , मंगलबार

  • अक्षते–घोडाबाँधे सडकखण्ड : ठेकेदार सम्पर्कविहीन, कालोपत्रेको काम अलपत्र

    बागलुङ, २७ मंसिर– मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम अलपत्र बनेको छ । श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ एक महिनादेखि सम्पर्कविहीन भएपछि करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो ।
    आर्थिक वर्ष २०७२÷०७३ मा उक्त सडकखण्ड कालोपत्रेका लागि जिम्मा पाएको सूर्य कन्ट्रक्सनबाट श्रेष्ठ निर्माण कम्पनीले कालोपत्रेको जिम्मा लिएको थियो । सडक कालोपत्रे नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित भएका छन् । निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक हुँदासमेत कालोपत्रेको काम नहुँदा बसाइँसराइ गर्न बाध्य भएको स्थानीय हरिलाल कँडेलले बताए । ‘हिलो र धुलोले स्थानीको उठिबास हुनेभयो’ कँडेलले गुनासो गर्दे भने ।
    काठेखोला गाउँपालिका वडा नं. ५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले एक महिनादेखि ठेकेदार हराउँदा लोकमार्गको काम ठप्प भएको बताए । स्थानीयले धेरै पटक सडकमै धर्ना दिए पनि ठेकेदारले बेवास्ता गरेको कँडेलको भनाई छ । सडकको कारण सिंगो समुदाय नै विस्थापित हुने अवस्था आएको कँडेलले बताए ।
    काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले आफू जनप्रतिनिधि भएर पालिकामा आएपछि ठेकेदार र प्रशासनलाई झक्झकाउने काम गरिरहेको बताए । तल्लोभन्दा माथिल्लो खण्डमा काम निकै सुस्त गतिमा भएको भन्दै कामलाई चुस्त बनाउन दबाब दिईरहेको थापाको भनाई छ ।
    मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बागलुङमा पर्ने सबै खण्ड आगामी असार मसान्तसम्म सक्ने दाबी गरे । भण्डारीले बागलुङमा १२ किलोमिटर सडक कालोपत्रे गर्न र केही स्थानमा मर्मतसम्भार गर्ने काम बाँकी रहेको भन्दै निर्माण कम्पनीलाई दबाब दिएको बताए ।
    ‘ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी भइरहेका बेला सरकारले असार मसान्तसम्म म्याद थप गरीदिँदा प्रक्रिया अगाडि बढ्न सकेन’ भण्डारीले भने, ‘अब बागलुङखण्ड कालोपत्रे गर्ने काम करिब अन्तिम चरणमा छ, असार मसान्तसम्म सबै खण्ड कालोपत्रे हुन्छन्, त्यसका लागि दबाब दिइरहेका छौ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend