पर्वत, २७ मंसिर– जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ८ र ११ जोड्ने दोबिल्लाको पुल मर्मत गरिने भएको छ ।
लामो समयदेखि मर्मत अभावमा जीर्ण बनेको पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले आगामी मंसिर २८ गते बुधबारदेखि मर्मत गर्ने भएको छ । पुल मर्मतका लागि तीन सातासम्म दोबिल्ला–फलेवास सडक बन्द गरिने भएको छ ।
सडक विभागमा लामो दबाबपछि मर्मतमा चासो देखाईएको हो । यो पुलले कुश्मा नगरपालिकाका छ वटा वडाका साथै फलेवास नगरपालिका, विहादी, महाशिला र पैँयु गाउँपालिका र छिमेकी स्याङ्जासमेत जोड्दै आएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार सबै पक्षको छलफलबाट पुल मर्मतका लागि मंसिर २८ देखि पुस १९ गतेसम्म सडक बन्द गरिने भएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म मर्मतको काम गरिने भएको हुँदा वैकल्पिक मार्गको प्रयोग गर्न पूर्वाधार कार्यालयले आग्रह गरेको छ ।
२०५६ मा ट्रयाक खुलेको दोबिल्ला–फलेवास सडकमा अस्थायी बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरिएको थियो । पक्की पुल निर्माण गर्न सरोकारवालाले दबाब दिएपनि तत्कालीन जिविसले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ ।
पुल मर्मतसँगै सोही स्थानमा अर्को मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिको छ । डिपीआरको जिम्मा पाएको एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराका अनुसार दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।