मुस्ताङ, २८ मंसिर– जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ३ चैलेमा हिमचितुवाको आक्रमणमा परी १२ ओटा च्याङ्ग्रा मरेका छन् ।
सोमबार ताक्ला गुरुङले पालेका च्याङ्ग्रालाई हिमचितुवाले आक्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको इलाका कार्यालय जोमसोमले जनाएको छ । कार्यालयका अनुसार हिमचितुवाको आक्रमणमा परेका १२ च्याङ्ग्रा मरेका छन् ।
हिमचितुवा खोरभित्रै पसेर च्याङ्ग्रा आक्रमण गरेको ताक्ला गुरुङले बताए । १२ च्याङ्ग्रा मर्दा ३ लाख ६० हजारभन्दा बढीको क्षति भएको उनले गुनासो गरे । गुरुङले क्षतिपूर्ति माग गर्दै एक्याप जोमसोममा निवेदन दिएका छन् ।
छुसाङ संरक्षण व्यवस्थापन समिति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र कार्यालयलाई पनि घटनाबारे गुरुङले जानकारी गराएका छन् ।
हिमचितुवा पीडितले बुझाएको क्षतिपूर्ति मागपत्र र विवरण छानविन गरी एक्यापको कार्यालय पोखरा पठाइने प्रमुख अशोक सुवेदीले बताए । नेपाल सरकारद्वारा जारी वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग सम्बन्धि निर्देशिका ०६९ र चौथो संशोधन २०७५ बमोजिम पीडितले क्षतिपूर्ती पाउने व्यवस्था छ ।
मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालक किसानले सास्ती भोग्दै आएका छन् हिमचितुवाले भेडा–च्याङ्ग्रा, याक, चौरी, घोडा, खच्चडलाई आक्रमण गर्दा लाखौको क्षति व्यहोर्नुपरेको किसान लाक्पा गुरुङ गुनासो गरे ।