काठमाडौं, २८ मंसिर– निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा घोषणा गर्दैछ । आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो ।
यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ । बिहीबार नै समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरिने छ । राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो पनि खुल्नेछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो । संघीय संसद्को प्रतिनिधिसभामा १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । सात प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् ।