पर्वत, २८ जिल्लाको जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो ।
धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाईगोरु पाल्ने किसानलाई अनुदान दिने लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । स्थानीय गाई–गोरु संरक्षण कार्यक्रममार्फत अनुदान वितरणका लागि प्रस्ताव आह्वान गरिसकिएको उनको भनाई छ ।
आधुनिक र व्यावसायिक पशुपालन तथा कृषि प्रवद्र्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो । आर्थिक वर्ष २०७९÷८० मा चार सयवटा गाईगोरुका लागि चार लाख अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ ।
अनुदानका लागि आवेदन दिने किसानले गाईगोरुको बीमा अनिवार्य गर्नुपर्ने हुन्छ । जलजला वडा नं. ७ धाइरिङमा समुदायस्तरबाट गौशाला सञ्चालन गरेर स्थानीय जातको गाई पालिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा दूध संकलन गर्ने ११ समूह र सहकारीका लागि आवश्यक सामग्री उपलब्ध गराउन १५ लाख बजेट विनियोजन गरेको थियो भने गत आर्थिक वर्षमा स्थापना भएको गाईभैँसी पकेट विकास कार्यक्रमको निरन्तरताका लागि १२ लाख र नयाँ पकेट स्थापना गर्न २५ लाख बजेट विनियोजन गरेको छ ।
दूध संकलन केन्द्र तथा सामग्री स्थापना कार्यक्रमका लागि समूह सहकारीबाट आवेदन माग गरिएको पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले बताए । यसअघि गाउँपालिकाले कृत्रिम गर्भाधानबाट जन्मिएका गाईको बाच्छाबाच्छी र भैँसीका पाडापाडी हुर्काउने कृषकलाई अनुदान दिएको थियो ।