बागलुङ, १ पुस– जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यामिक विद्यालय, एक अक्षयकोष’ अभियान सुरु भएको छ । गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्राबृत्ति उपलव्ध गराउने उद्धेश्यले सबै वडाका माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो ।
सामाजिक संस्था ‘हाम्रो जैमिनी संस्था’ले अक्षयकोष स्थापनाको पहिलो चरणको अभियान सुरु गरेको हो । दाताहरुको सहयोगका भरमा अक्षयकोष स्थापना अभियान सुरु गरिएको संस्थाका संस्थापक छायादत्त चापागाईंले बताए ।
पहिलो चरणमा नगरपालिका–७ जैदीमा रहेको संस्कृत मावि, वडा नं. ८ छिस्तीमा रहेको जनकल्याण मावि, वडा नं. ६ अर्जेवामा रहेको जनकल्याण मावि, वडा नं. ५ बिनामारेमा रहेको सर्वोदय जनक मावि र वडा नं. ४ सर्कुवामा रहेको जनता माविलाई अक्षयकोषको रकम प्रदान गरिएको छ । संस्थाले विद्यालयमा रहने गरी प्रतिविद्यालय १५ हजार रुपैयाँ प्रदान गरेको छ ।
कोषबाट आउने बार्षिक व्याजबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने वा आवश्यकताका आधारमा जहेन्दार विद्यार्थीलाई विद्यालयले छात्राबृत्ति प्रदान गर्न सक्ने चापागाईंले बताए । संस्थाले दिएको थोरै पैसामा विद्यालयले अन्य स्रोतको खोजी गरी कोष बृद्धि गर्न सक्ने उनले बताए ।
पहिलो चरणमा पाँचवटा मात्रै विद्यालयका लागि कोषको रकम प्रदान गरिएको भएपनि क्रमशः दशवटै वडाका एक÷एक विद्यालयमा पु¥याईने चापागाईले जानकारी दिए । संस्थाले नेपाल र विदेशमा रहेका संस्थाका सदस्यहरुबाट स्वस्फुर्त सहयोग संकलन गरेर कोषका लागि पैसा जम्मा गरेको हो ।