म्याग्दी, २ पूस– मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन गरिएकोे छ ।
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।
टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिए ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । ‘सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो’, शेरचनले भने, ‘जहाजका सबै सामान कोवाङ ल्याउन १० दिन लाग्ने अनुमान छ ।’
यसअघि शेरचनको नेतृत्वमा २०७२ फागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एयरको जहाजका पाटपुर्जा संकलन गरेर दाना झारिएको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले बीमा दाबीका लागि उठाउने गर्छन् ।