बागलुङ, २ पुस– नेपाल पत्रकार महासंघ बागलुङको १३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री मणीभद्र शर्माले राज्यका अन्य निकायको खवरदारी गर्ने संस्था भएकोले पत्रकारिताले चौथो अंगको नाम पाएको बताए । उनले पत्रकारले समाजको बेथिती बिरुद्ध नियमित कलम चलाउनुपर्ने धारणा समेत राखेका थिए ।
साधारणसभाले सचिव बिजय रानाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष सुवास गौतमको आर्थिक प्रतिवेदन पास गरेको छ । साथै, समसामयिक बिषयमा विभिन्न प्रस्ताव पनि पास भएको कावा अध्यक्ष नविन शिसिर बिकले बताए ।
कार्यक्रममा जनप्रतिनिधि भएको भन्दै बानपा–११ का वडा अध्यक्ष पूर्वपत्रकार ज्ञानेन्द्र गौतम र नेपाल प्रेस युनियनको महासचिव बन्न सफल भएकोले दिलीप पौडेललाई सम्मान गरिएको थियो ।
पत्रकारहरु पुरस्कृत
साधारणसभाको अवसरमा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले आफ्ना आमाबाबुको स्मृतिमा स्थापना गरेको नन्दहरी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट राससका प्रधानसम्पादक एकराज पाठक, गणेश पौडेल र भाषा शर्मालाई पुरस्कृत गरिएको छ ।
आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गरेका थिए । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न सो पुरस्कार दिने गरिएको छ । उक्त पुरस्कारको राशी १५ हजार रहेको छ ।
यसैगरी पत्रकार राम थापा अविरल, सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंहलाई हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार प्रदान गरिएको छ । व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा नारायणप्रसाद र आमा हरिलक्ष्मीको स्मृतिमा २०७३ सालमा उक्त पुस्कार स्थापना गरेका थिए । हाल यो पुरस्कारको संरक्षकमा व्यवसायी श्रीजय श्रेष्ठ छन् । यो पुरस्कारबाट एक पत्रकार एक स्तम्भकार गरी दुइ जनाको दरले पुरस्कृत गरिने कार्यक्रम छ ।
सोही अबसरमा पत्रकार राजेशचन्द्र राजभण्डारीलाई ‘टीकाधना पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पत्रकार मित्र खरेलले बाबुआमाको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका थिए । पुरस्कारको राशि १५ हजार छ ।
नेपाल पत्रकार महासंघ बागलुङका कावा अध्यक्ष नविन शिशिर बिकको अध्यक्षता, सचिव बिजय रानाको संचालन र उपाध्यक्ष सरिता खत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, पत्रकार दिलीप पौडेल, पुरस्कृत पत्रकार एकराज पाठक, भाषा शर्मा तथा पेशागत संगठनका प्रमुख समेतले शुभकामना मन्तव्य राखेका थिए ।