बागलुङ, ६ पुस– भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाले बिद्यालयको छानामा कमजोर सामाग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राबिमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामाग्री प्रयोग भएको देखिएको र सो को स्थानीयबासी, व्यवस्थापन समिति र सरोकारवाला संघ संस्थाले गरेको अनुगमनबाट पत्ता लागेको भन्दै अख्तियारमा उजुरी गरिएको हो ।
भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाइ र निर्माण सामाग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपबिरुद्ध उजुरी गरिएको संस्थका अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
गत साउनमा उक्त बिद्यालयमा भ्वाङ परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित थियो । यो भवन राष्ट्रिय पुन निर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको हो । यो भवनमा युपिभिसी जस्तापाताले छाना छाइएको छ । छानामा प्वालैप्वाल परेकोले बिद्यार्थी राखेर पढाउन समेत नसकी बर्षातमा बालबालिकालाई एकै स्थानमा दुइदुइ वटा कक्षा संचालन गर्नुपरेको थियो ।
सप्लायर्स कम्पनीले गुणस्तरहिन सामाग्री प्रयोग गरेको आरोप लगाइएको छ । उजुरीमा शिक्षा शाखाका तत्कालिन प्रमुख मतिलाल चपाइ र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्कसलाई दोषी बनाइएको हो ।
बिद्यालय व्यवस्थापन समितिलाई दवावमा पारेर आयोजना र कम्पनीले गुणस्तरहिन सामाग्री प्रयोग गरेका थिए । बिद्यालयको छानामा सयौं प्वालहरु परेको अनुगमनबाट पनि पुष्टी भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । बिद्यालयमा बिजोग भएको देखेपछि मर्मतका लागि नगरपालिकाले सहयोग गर्ने तयारी भएको सापकोटाले जानकारी दिए ।
असिना पर्दा गतबर्षको चैतबैसाखमा यो बिद्यालयमा भ्वाङ परेको वडा अध्यक्ष मेघनाथ गैरेले बताए । पानी पर्दा समेत ती भ्वाङ थपिंदै गएको स्थानीयले बताए । भवनमा प्लाल परेपछि वडा अध्यक्ष गैरेले बिद्यालयको अबस्था अनुगमन गरेर पुन निर्माण गर्न नगरपालिकामा बजेट माग गरेको बताए ।