पर्वत, ७ पुस– जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा बसाईसराईले बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले चिया खेती गर्ने योजना बनाएको छ ।
आर्थरडाँडामा परीक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किँदै गएपछि चियाखेती राम्रो हुने आँकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको वडा अध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिए ।
‘आर्थरडाँडामा चियाखेतीका लागि उपयुक्त हावा, पानी र माटोसमेत सुहाउँदो भएको देखिन्छ’ अध्यक्ष रिमालले भने, ‘सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीले तयारी थालेको छ ।’
वडा कार्यालयको अनुरोधमा कार्यालयको टोलीले आर्थरडँडाखर्कका सबै क्षेत्रमा चियाखेतीको सम्भावनाको अध्ययन थालेको हो । गाउँमा बसाइँसराइले खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्यतामा समेत ह्रास आउन थालेपछि बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताए ।
‘गाउँमै रोजगारी हुनेमात्रै नभई नगरलाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा गरिएको छ’, अध्यक्ष रिमालले भने, ‘त्यसका लागि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नुका साथै उपयोगविहीन जग्गा प्रयोगमा ल्याउनुपर्छ ।’
आर्थरमा चियाखेतीको विस्तार हुनसकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने स्थानीय इन्द्र गुरुङले बताए । बाँझो जमिन उपयोग गरी युवालाई गाउँमै कमाउने र रमाउने वातावरण सिर्जना गर्न सकेमा बसाइँसराइ दर कम हुने गुरुङको भनाई छ ।
आर्थरडाँडाखर्कका झण्डै ८ सय परिवार बसाइँ सरेर पोखरा र काठमाडौँलगायतका सहरमा बस्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडा सचिव ठाउँ खोज्दै जानुपर्ने बाध्यता छ । अहिले गाउँमा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आएपनि गाउँ भने रित्तिँदै गएको स्थानीय दुर्गा शर्माले बताए ।