बागलुङ, ९ पुस– बितेको एक बर्षमा बागलुङमा २२ जना बालिका बलात्कारको शिकार बनेका छन् । १९ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित बनेका बालिकाहरु ५ देखि १५ बर्ष उमेर समुहका छन् ।
बयोबृद्धादेखि युवा र आफ्नै उमेर समुहबाट बालिकाहरु पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङको तथ्यांकमा उल्लेख छ । तथ्यांकले बालकहरु बलात्कार जस्तो अपराधमा संलग्न भएका घटना बढ्न थालेको पुष्टि गर्छ ।
२०७७ सालमा बागलुङमा बालिकालाई बलात्कार तथा बलात्कार प्रयासका १२ वटा मात्रै घटना भएका थिए । त्यो संख्या बढेर २०७८ मा २३ पुगेको छ । यसअघिका घटनामा बालकहरुको संलग्नता निकै कम रहेको भएपनि चालु बर्षका घटनामा भने बालकहरुको संलग्नता पाईएको इन्सेक प्रतिनिधि सिर्जना पन्तले जानकारी दिइन् ।
बालकहरु बलात्कारमा संलग्न भएका घटना बढ्न थालेपछि सरोकारवालाले चिन्ता र चासो व्यक्त गरेका छन् । बालिका बलात्कारका घटना महिनावारी रोकिएपछि मात्रै बाहिर आउने गरेको प्रहरी अधिकारी बताउँछन् ।
‘महिनाबारी रोकिएपछि मात्रै अभिभावक उजुरी लिएर आउनुहुन्छ, कयौं प्रयास गर्दासमेत बालिकाहरु आफु बलात्कृत भएको बताउँदैनन्’ प्रहरी निरीक्षक राजाराम खड्काले भने ‘दबाव र प्रभावमा कयौं बलात्कारका घटना भएका छन् ।’ दुर्गम र कम शिक्षित गाउँमा यस्ता घटना बढिरहेको खड्काले बताए ।
कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी लक्ष्मी जिसी कार्की, वरिष्ठ अधिवुक्ता काजी गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नवीन शिशिर विकले समाजको कलंक बन्दै गएको बलात्कारका घटना निरुत्साहित गर्न चेतनाको खाँचो औल्याएका थिए ।