बागलुङ, १४ पुस– बर्षौदेखि खाइरहेको खानेपानी ट्यांकीमा समानान्तर संरचना बनेपछि बागलुङ नगरपालिका वडा नं. ४ को ओडारचौर खानेपानी आयोजनामा बिबाद भएको छ ।
ओडारचौर र रमेटारबासीले बर्षौदेखि उपभोग गर्दै आएको पानीको संरचना मर्मत भैरहेकै बेला सोही मुलमा अर्को ट्याँकी बनेपछि स्थानीय आक्रोसित भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङमा सम्झौता नभई अर्को ट्यांकी बनेपछि स्थानीयले तत्काल रोक्न माग गरेका छन् ।
दुई बस्तीका लागि २०३३ सालमा दर्ता भएको पानीबाट अहिलेसम्म बितरण भैरहेको उपभोक्ता समितिका अध्यक्ष द्रोणराज आचार्यले बताए । बुधबार ओडारचौरका ४० जनाभन्दा बढी स्थानीयले डिभिजन कार्यालय घेराउ गरेका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी इश्वरीप्रसाद शर्मासहित उपभोक्ताले स्थलगत रुपमा पानी ट्यांकीको अबलोकनसमेत गरेको छ । शर्माले उक्त ट्यांकी बनाउने कुनै योजना सम्झौता नभएको बताए ।
‘प्रदेशको बजेट आएको हो, तर सम्झौता भएको छैन’ शर्माले भने, ‘समन्वय नगरी काम गर्दा बिबाद आएको हो ।’ रमेटारमा छुट्टै उपभोक्ता समिति बनाएर उक्त बजेट प्रयोग गर्नेगरी भूमिराज शर्माको संयोजकत्वमा काम भइरहेको छ ।
उपभोक्ता समितिका अध्यक्ष शर्माले भने बजेट आएको छ भनेपछि काम थालेको बताए । ‘हामीले छुट्टै पानी खानका लागि ट्याङ्की बनाएका हौं, उहाँहरुको योजनामा केही असर गरेका छैनौ’ शर्माले भने, ‘रमेटारबाहेक माथिल्लो बस्तीका ७ घरलाई छुट्टै पानी आवस्यक परेकोले काम थालिएको हो ।’
गत बर्ष प्रदेश सरकारको १० लाख बजेट ल्याएर आयोजना मर्मत गरिएको थियो । काम पुरा नभएपछि ६ लाख मात्रै भुक्तानी भएको थियो । यो पटक बनेको छुट्टै ट्याङ्कीमा १० लाख बढीको काम भैसकेपनि कुनै सम्झौता भएको छैन ।