बागलुङ, १५ पुस– गाउँपालिकाले वार्षिक कार्यक्रम बनाएपछि मनबहादुर रानालाई लागेको थियो आफ्नै गाउँको खेलमैदान बनाउने जिम्मेवारी पक्कै पाइन्छ । उपभोक्ता समिति गठन गर्दा मानबहादुर अध्यक्षका दाबेदार थिए ।
गाउँकै खेलमैदान भएकाले आफैले नेतृत्व गरेर योजना सम्पन्न गर्ने उहाँको चाहना पनि थियो । बडिगाड गाउँपालिका वडा नं. २ का मानबहादुरलाई लागेको थिएन उपभोक्ता समितिले यति सजिलै कामको सुरुवात गर्छ भनेर ।
पालिका धाउनुपर्ने, पटक–पटकको झण्झट खेप्नुपर्ने, योजना सम्झौताकै लागि हजारौँ रुपैयाँ खचिनुपर्ने पूर्व तयारी गरेर बसेका मनबहादुर आफ्नै दैलोमा योजना सम्झौता भएपछि दंग छन् ।
उपभोक्ता समितिको अध्यक्ष रहेको दनियाँ खेलमैदान निर्माणको योजना सम्झौता आफ्नै टोलमा भएपछि उनको समय र पैसा दुवै बचेको छ । मनबहादुर मात्रै होइन बडिगाडका अधिकांश योजनाका उपभोक्ता समितिले राहत पाएका छन् ।
बडिगाडले वडा नं २ मा चालु आर्थिक वर्षमा ४८ योजना सञ्चालन गर्दैछ । यस पटक वडाले योजना सम्झौता र बैंक खाताका लागि वडामै चाँजोे मिलाएको थियो । रानाले भने, ‘यति कामका लागि पालिका जानुपरेको भए धेरै नै दुःख हुन्थ्यो, तर वडामा काम बन्यो खुसी लागेको छ ।’
यस्तै यस पटक जिउनिखोला ट्याङ्की निर्माण योजनाको अध्यक्ष रहेकी लक्ष्मी रानाले अघिल्लो पटक प्राविधिकको लागत स्टमेन्ट नबुझ्दा खर्च बढ्यो । यस पटक भने योजनाको अनुमान र प्राविधिको सल्लाहअनुसार काम गर्ने बताइन् ।
वडा कार्यलयले पनि बाँकी रहेका योजनाको सौम्झौताको काम पुस मसान्तसम्म सक्ने र योजनाको काम चैतभित्रै सक्नेगरी काम थालेको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।