म्याग्दी, १६ पुस– जिल्लाको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ ।
बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, रेष्टुराँ, सार्वजनिक शौचालय र भवन हटाइएको हो । बेनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बसपार्कलाई व्यवस्थित बनाउन भौतिक संरचना डोजर चलाएर हटाइएको जानकारी दिए ।
‘सार्वजनिक जग्गा भाडामा लिएर अस्थायी संरचना बनाई व्यवसाय गर्दै आएका सम्बन्धित व्यक्ति, संस्था र यातायात कम्पनीसँग गरिएको सम्झौताको म्याद बसपार्क निर्माणको काम सुरु भएपछि थपिएको थिएन’, उनले भने, ‘सम्बन्धित पक्षले अटेरी गरेपछि नगरपालिका आफैँ अग्रसर भई संरचना भत्काउन बाध्य भएको हो ।’
कालीपुल बसपार्क निर्माणस्थलमा पर्ने यातायात कम्पनीको दुई वटा टिकट काउन्टर, कालीपुल युनाइटेड क्लबको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाइएको हो । म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको पर्खाल पनि भत्काइएको छ ।
नगरप्रमुख सुरत केसी, वडा अध्यक्ष कर्माचार्य, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माको उपस्थितिमा डोजर चलाएर अवस्थित संरचना हटाइएको थियो । बसपार्क निर्माण स्थलमा पर्ने होटल तेजल एण्ड रेष्टुराँका सञ्चालक भोजबहादुर कार्कीलाई पुस २२ गतेभित्र संरचना हटाउने सहमति भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन अगाडिको घेराबार पर्खाल पनि भत्काउन नगरपालिकाले छलफल अगाडि बढाएको छ । सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।