म्याग्दी, १७ पुस– जिल्लाको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उद्यान निर्माण सुरु गरेको थियो ।
बजेट अभावका कारण निर्माण रोकिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘कर्मचारीले भौतिक र वित्तीय प्रगति विवरण नपठाउएका कारण बजेट काटिँदा उद्यान निर्माणको काम रोकिएको हो’ केसीले भने, ‘बजेटलाई निरन्तरता दिन मन्त्रालयसँग समन्वय भईरहेको छ ।’
समस्या पहिचान भएपछि तत्कालै प्रतिवेदन पठाएर चालू आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन भएको र निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गरिएको नगरप्रमुख केसीले बताए । उद्यान बनाउन धर्मा एस कास्यप जेभीले गत भदौमा १ करोड ७६ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले उद्यान निर्माणस्थल घेराउका लागि पर्खाल निर्माण र मूर्ति तयार पारेको छ । पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख विनियोजन गरेर ठेक्का आह्वान गरिएको थियो ।
२०७९ पुसमा उद्यान निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि बजेट अभावका कारण सफल नभएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले बताए । पछैमा पौराणिक महत्व झल्कने रावणको मूर्ति राख्ने र बगैँचा निर्माण गर्ने योजना छ ।
चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लागएको हो । हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत् राखेर पूर्वाधार बनाइने भएको छ ।