म्याग्दी, १८ पुस– जिल्लाको मंगला, मालिका र धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरबाङ–मुना सडकखण्डअन्तर्गत सिमबाट रनवाङसम्मको ४ किमी सडक कालोपत्रे गर्न सञ्चालन भएको सडकको काम सुस्त गतिमा अघि बढेको छ ।
डिबिएसटी प्रविधिको कालोपत्रे गर्नेगरी २०७८ पुस १८ मा पूर्वाधार विकास कार्यालयसँग अमर–देवसयर जेभीले १० करोड ७० लाखमा ठेक्का सम्झौता गरेको थियो । सडक पराकिलो बनाउने लगायतका काम सुरु गरिएको योजना आगामी असारसम्म निर्माण सम्पन्न गर्ने म्याद रहेको छ ।
हिउँदयाम मध्य भइसक्दासमेत निर्माण कम्पनीले आवश्यक जनशक्ति र निर्माण उपकरण परिचालन गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रनबाङबाट मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किलोमिटर सडकलाई कालोपत्रेका लागि सञ्चालन भएको योजना अधुरै छ ।
२०७६ जेठ ३१ गते २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभीले अहिलेसम्म जम्मा ५० प्रतिशत मात्रै भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदक्त अधिकारीले जानकारी दिए । गत वर्षदेखि काम छाडेको निर्माण कम्पनी अहिलेसम्म कार्यक्षेत्रमा नफर्किएपछि ताकेता गरिएको छ ।
यस्तै, मालिकाबाट धवलागिरि गाउँपालिकाको मुना जोड्ने सडकखण्डअन्तर्गत धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजनाले तीव्रता पाएको छ । दरबाङ–दाङखोला–धारापानीसम्मको ७ किलोमिटर सडकमा ग्राभेलको काम भईरहेको छ ।
१४ करोड ३८ लाखमा ठेक्का सम्झौता गरेको कुँबर–ब्राइट जेभीले सडक पराकिलो बनाउने, नाली निर्माण र पर्खाल लगाउने कामलाई तीव्रता दिएको छ । दरबाङबाट दाङखोलासम्म ग्राभेलका लागि सबवेस सडकमा पु¥याइसकिएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद हुमागाईँले बताए ।
उहाँका अनुसार बादिकाको भिरमा सडकलाई फराकिलो बनाउने, ग्याविन पर्खाल लगाउने कामसमेत सुरु भएको छ । दरबाङबाट धारापानीसम्मको सडकलाई छदेखि सात मिटर फराकिलो बनाउने र ग्राभेल गर्ने गरी सञ्चालन भएको योजनाको अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको छ ।