पर्वत, १८ पुस– पर्वतको कुश्मा नगरपालिकाले निजामती क्षेत्रमा प्रवेश गर्न चाहने महिलाका लागि लोक सेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
आर्थिक र सामाजिक रूपमा विपन्न महिलाहरूका लागि आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले जानकारी दिए ।
द्धितिय श्रेणी खरिदार अप्राविधिक पदको निशुल्क कक्षामा सहभागी हुनको लागि एसएलसी÷एसईई वा सो सरह उत्र्तिण गरेको, १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र कुश्मा नगरपालिकाको स्थायी बासिन्दा भएको हुनुपर्ने सर्त राखिएको छ ।
तालिममा सहभागी हुन इच्छुक महिलाहरुले पुस २४ गतेभित्र सम्बन्धित वडा कार्यालयमा दरखास्त दिनुपर्ने छ । नगरपालिकाका १४ वटै वडामा दरखास्त संकलन गरेपछि मात्रै तालिम लिन इच्छुक महिलाको संख्या यकिन गरिने छ ।
‘महिला सक्षमताको लागि तालिम सञ्चालन गर्न लागेका हौँ । निजामती सेवा प्रवेश प्रक्रियाबारे थाहा नपाउँदा इच्छुक महिलाहरूले चासो दिनुभएको छैन’ प्रशासकीय अधिकृत गुरुङले भने, ‘कक्षामा लोक सेवा आयोगको परीक्षाका लागि प्रशिक्षण, आफूले गर्ने तयारी लगायतका विषयमा प्रशिक्षकबाट जानकारी प्रदान गरिने छ ।’