बागलुङ, २६ पुस– युवा व्यवसायी रुसन सापकोटाले बागलुङको एक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा खाद्यान्न सहयोग गरेका छन् । बागलुङको जैमिनी नगरपालिका–२ स्थित सुन्तलाचौर माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सापकोटाले पोशाक, स्टेशनरी र खाद्यान्न सहयोग गरेका हुन् ।
बागलुङ बजारमा होटल पर्व एण्ड व्यान्क्युट सञ्चालन गरिरहेका सापकोटाले आफ्नो बाउबाजेको जन्मथलोमा रहेको विद्यालयमा पुगेर २६ जना विद्यार्थीलाई सहयोग गरेका हुन् । व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भन्दै सापकोटाले एक बर्ष पुग्नेगरी स्टेशनरी, विद्यालय पोशाक, जुत्ता तथा खाद्यान्न सहयोग गरेको बताए ।
विद्यालयले छनोट गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरिएको थियो । सापकोटाले जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोगी बन्न पाएको भन्दै खुसी व्यक्त गरे । युवाले नगरे कसैले नगर्ने भन्दै सापकोटाले सामाजिक भावको सन्देशका रुपमा आँफुले विद्यालय पुगेर सहयोग गरेको बताए । होटल व्यवसायमा लागेका २५ बर्षिय सापकोटा बिभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध छन् ।