पोखरा, २ माघ– कास्कीको पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आज सोमबार राष्ट्रिय शोक घोषणा गरिएको छ । सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ । विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । ‘सोमबार अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भनेका छन् ।
सरकारले शोक बिदा दिए पनि परीक्षाका पूर्वनिर्धारित कार्यक्रम नरोकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदी खोचमा दुर्घटना भएको थियो ।