पर्वत, ६ माघ– सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो ।
२०४८ मा पोखरा–बागलुङ सडक विस्तार भएपनि अहिलेसम्म बसपार्क नहुँदा यात्रु तथा सवारी चालक समस्यामा थिए । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता गरी बसपार्क निर्माण सुरु भएको हो ।
७ करोड १० लाख ३० हजारको लागतमा बसपार्क निर्माण गर्न लागिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । भवन निर्माणको जिम्मा स्याङ्जाको विजय सिद्धबाबा निर्माण सेवा कम्पनीले पाएको छ ।
गत कात्तिकमा ठेक्का सम्झौता भएको योजनाको निर्माण अवधि आगामी असोज मसान्तसम्म छ । करिब १२ रोपनी १२ आना क्षेत्रफलमा बसपार्क निर्माण हुने छ ।
बसपार्कमा फरक फरक प्रकृतिका सवारी साधन फरक फरक स्थानमा पार्किङको व्यवस्था गरिने छ । कम्पनीका प्रबन्धक सविन श्रेष्ठका अनुसार ठेक्का सम्झौताको अवधि ११ महिना मात्र बाँकी रहेकाले अहिले निर्माणको काम धमाधम भइरहेको छ । वर्षायाम अगावै धेरैजसो काम गर्ने गरी जनशक्ति परिचालन गरिएको छ ।
भिरालो जमिन भएकाले बसपार्कमा दुई तहमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ । बसपार्कसँगै दुई तले भवनसहित टिकट काउण्टर र प्रतीक्षालय निर्माण हुनेछ । यसअघि सिटीहल सहितको बसपार्क निर्माणका लागि कुश्मा नगरपालिकाले डिपीआर तयार पारिसकेको थियो ।
व्यवस्थित बसपार्क नहुँदा सडकमै पार्किङ गर्ने, बजारभित्र अव्यवस्थितरुपमा सवारी साधन राख्दा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । अबको एक वर्षमा बसपार्क निर्माण सम्पन्न भएपछि कुश्माबजारको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले बताए ।